काठमाडौंको थापाथलीस्थित प्रसुती गृहबाट बच्चा चोरी गरेकी महिलाले आफ्नो विवाह भएको लामो समय सम्म पनि बच्चा नभएपछि अर्काको बच्चा चोरी गरेको बताएकी छिन् । २६ दिनकी बालिका प्रसुती गृहबाट चोरेर फरार भएकी दैलेखकी मनकुमारी सिंहलाई प्रहरीले मध्यरातमा काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको थियो । पक्राउ परेकी सिंहले शुरुमा भने बच्चा आफूले चोरेको नभई जंगलबाट भेट्टाएर ल्याएको बताएकी थिइन् । जंगलमा फालेको अवस्थामा आफूले बच्चा फेला पारेको बताउँदै उनले फालिएको बच्चाको माया लागेर आफूले बच्चालाई घरमा ल्याएको बताएकी थिइन् । तर, प्रसुती गृहबाट बच्चा बोकेर बाहिरिँदै गर्दा सिसिटिभीमा देखिएको उनको हुलिया र मध्यरातमा भेटिएको हुलिया हुबहु मिलेको थियो । बच्चा चोरेर प्रसुती गृहबाट भाग्दै गर्दा देखिएको कपडामा नै उनी मध्यरातमा थिइन् । उनले दिउँसो लगाएको कपडा समेत खोलेकी थिइनन् ।
उनले बच्चा चोरेर काँडाघारी स्थित भाडाको कोठामा पु¥याएकी थिइन् । बच्चा चोरीको घटनामा अहिले उनीसँगै अर्की महिला पनि प्रहरी नियन्त्रणमा छिन् । बच्चा चोरी गरेर प्रसुती गृह परिसर कटाएपछि चोरी गर्ने ती महिलाले आफ्नी दीदी पर्ने अर्की महिलालाई खबर गरेकी थिइन् । बीच बाटोबाट भने बच्चा चोरी गर्ने मनकुमारीसँगै ती अर्की महिला पनि काँडाघारीस्थित उनको कोठामा पुगेकी थिइन् । बच्चा कोठामा पु¥याएपछि उनीहरुले आफन्तलाई मनकुमारी सुत्केरी भएको खबर गरेका थिए । मनकुमारीले केहीदिनअघि अस्पतालमा छोरी पाएको बताउँदै उनीहरुले आफन्तसँग खुसी साट्न समेत भ्याएका थिए ।
प्रहरी नियन्त्रणमा पर्दा शुरुमा आफूले बच्चा चोरेको नभई जंगलमा भेट्टाएको बताएकी मनकुमारीले प्रहरीको केरकारपछि भने आफूले प्रसुती गृहबाटै बच्चा ल्याएको स्विकार गरेकी थिइन् । उनले प्रहरीसँगको बयानमा आफ्नो विवाह भएको लामो समय भइसक्दा पनि बच्चा नभएपछि आफू तनावमा परेकाले बच्चा चोर्ने आइडिया रचेको बताइन् । चोरीको योजना सहित आफू केहीदिनअघिबाट प्रसुती गृहमा नै घुम्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छिन् । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उनले बच्चा अरु कुनै उदेश्यले नभई पाल्न र आफ्नो बनाउँनका लागि मात्रै आफूले चोरेको बताएकी छिन् । बच्चा कोठामा ल्याएपछि आफू असाध्यै खुसी भएको बताउँदै उनले आफन्तहरुलाई समेत आफू सुत्केरी भएको खबर गर्न लगाएको बताएकी छिन् । विवाह भएको लामो समयसम्म बच्चा नहुँदा आफू परिवार र समाजबाट मानसिक टर्चरमा पर्ने देखेर बच्चा चोरेको उनको भनाई छ । आफ्नो पेटमा बसेको बच्चा तीनपल्ट सम्म खेर गएको बताउँँदै उनले अब भने आफूबाट सग्लो बच्चा नहुने ठानेरै अरुको बच्चा लिने योजना केही समय पहिलेबाट बनाएको प्रहरीलाई बताएकी छिन् । डाक्टरकोमा देखाउँदा समेत डाक्टरले बच्चा सग्लो हुने सम्भावना नरहेको बताएपछि आफूले बच्चा चोरीको विकल्प रोजेको प्रहरीसँगको बयानमा भनेकी छिन् । डाक्टरलाई मेरो बच्चा हुने नहुने विषयमा पटक पटक देखाएँ । तर, डाक्टरले अब तिमीबाट बच्चा सम्भव छैन भनेपछि मैले अरुको बच्चा चोर्ने योजना बनाएँ । मनकुमारीले प्रहरीसँगको बयानमा भनिन् ः बच्चा मार्ने, बेच्ने या अरु त्यस्तो मेरो कुनै आपराधिक योजना थिएन । म बच्चार्लाइ आफ्नो बनाएर पाल्न चाहन्थेँ र मेरो समाजमा मनकुमारीले पनि बच्चा पाएकी छे भन्ने देखाउँन चाहन्थेँ । मेरो उद्देश्य त्यत्ति हो ।
प्रहरीले बच्चा चोरी गर्ने ती महिलामा मानसिक समस्या रहेको अनुमान गरेको छ । अहिले चोरीएकी २६ दिनकी शिशु प्रहरीले उनका आफन्तको जिम्मामा लगाइसकेको छ । शुक्रबार दिउँसो प्रसुतीगृहको ओपीडिमा परीक्षणका लागि पुगेकी काभ्रे घर भई हाल काठमाडौंको कपनमा बस्दै आएकी सविना श्रेष्ठलाई छक्क्याएर मनकुमारीले बच्चा चोरेकी थिइन् । सविना श्रेष्ठ ओपीडिमा छिर्न लागेको समयमा मनकुमारीले एकैछिन म बच्चा समाइदिउँला तपाई भित्र गएर आउनुस् भनी सहयोगको बहाना बनाएर बच्चा फुत्काएकी थिइन् । सविना ओपीडिबाट बाहिरिँदा न त त्यहाँ उनको बच्चा थियो न त आफूले बच्चा समाउन दिएकी महिला नै थिइन् । बच्चा सहित ती महिला बेपत्ता भएपछि आफ्नो बच्चा चोरी भएको निष्कर्षमा सविना श्रेष्ठ पुगेकी थिइन् । केहीबेर अस्पताल परिसरमै खोजेपछि सविनाले आफ्नो बच्चा चोरी भएको खबर प्रहरीलाई गरेकी थिइन् । प्रहरीको निरन्तरको खोजीपछि बच्चा चोरी गर्ने महिला सहित बच्चा शुक्रबार मध्यरातमा काठमाडौंको काँडाघारीमा फेला परेको थियो ।





