Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

गृहमन्त्री र आईजीपीलाई कारबाही गर्न सांसदको माग


गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरिएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।

बिहीबारको संसद् बैठकमा पनि यो विषयमाथि चर्को बहस भएको थियो । सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे ध्यानाकर्षण गराएका थिए । त्यसमाथि शुक्रबारको बैठकमा बोल्ने क्रममा सांसद ज्वालाले गृहमन्त्री र आईजीपीमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखे ।

‘सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिएको छ । तर, उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिन र अत्याचार गर्नका लागि निर्देशन दिने गृहमन्त्री, आईजीपी लगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु,’ उनले भने ।

उनले अन्तरजातीय विवाह गरेका सत्यन्द्रकुमार राम (चमार) र नेहा रौनियारमाथि गृहमन्त्री र आईजीपीकै निर्देशनमा अत्याचार भएको जिकिर गरे ।

उनले यो प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारवाही गर्न ध्यानाकर्षण गराए ।


प्रतिक्रिया दिनुहोस !
विचार