Logo
१८ बैशाख २०८३, शनिबार
|  Sat May 2 2026

पठन पाठन रोकेर कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थी पुगे प्रहरी कार्यालय


शिक्षा साक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्ला स्थित एक माध्यमिक विद्यालयमा पठन पाठन अवरुद्ध गरी गैर शिक्षकले धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन्।

स्थानीय कटहरियाका पूर्व शिक्षकद्धय लक्ष्मी नारायण यादव र रामाश्री प्रसाद यादवले कटहरिया स्थित जनता माध्यमिक विद्यालयको कक्षा ११ को पढाई बन्द गरी करिब २ घन्टा धार्मिक प्रवचन दिएका थिए।

पूर्व शिक्षकद्वयले यौन काण्ड लगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका राम पालको बारेमा लगातार कक्षा कोठाभित्र प्रवचन दिएका थिए।

उनको प्रवचनको कारण मङ्गलवार अङ्ग्रेजी र लेखा विषयको पढाई हुन नसकेको कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीले बताए। यादवद्वयले कक्षा ११ कक्षा १२ लाई लगातार केहि दिन प्रवचन दिने कार्यक्रम रहेको बताएपछि कक्षा ११ का विद्यार्थीले इलाका प्रहरी कार्यालय कटहरियामा गएर मौखिक गुनासो गरेका थिए ।

लगत्तै सई सिंहले मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवलाई इलाका प्रहरी कार्यालयमा बोलाएर यसबारे छलफल गरेका थिए । तत्पश्चात् प्रवचनको कार्यक्रम रोकिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार