(रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको रुपन्देहीमा चलिरहेको मुद्दामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । उजुरीकर्ता भनिएका व्यक्तिहरुले नै प्रहरीले आफ्नो नाम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले यस्तो आरोप लगाएका थिए । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो । आफूले बचत फिर्ताका लागि निवेदन दिएको तर रवि विरुद्ध कुनै उजुरी नगरेको उनको भनाइ छ ।
त्यसको ११ दिनपछि वैशाख २७ गते जाहेरीको १६ औँ नम्बरमा नाम रहेकी गीता आचार्यले पनि उस्तै दाबी गरेकी हुन् । उनले पनि बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन् ।
एकपछि अर्को उजुरीकर्ताले यस्तो आरोप लगाउँदा रुपन्देहीमा प्रहरीले गरेको सहकारी ठगीको अनुसन्धानमै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । रविलाई फसाउने नियतले नक्कली उजुरीकर्ता खडा गरेर मुद्दा हालिएको रास्वपा नेता–कार्यकर्ताले आरोप लगाउन थालेका छन् ।
गीता सुप्रिम सहकारीकी बचतकर्ता हुन् । आफ्नो नाम उजुरीकर्ताको सूचीमा आउँदा आश्चर्यचकित बनेको उनको भनाइ छ ।
रुपन्देहीमा पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम प्रहरीले थप जाहेरीकर्ताका रूपमा सार्वजनिक गरेको थियो ।





