जेनजी आन्दोलनताकाका गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरिनसकेको बताएका छन् ।
बयान दिन जाने कि नजाने भन्ने प्रश्नमा लेखकले आफूले त्यसबारे निर्णय गरिनसकेको जवाफ दिए ।
जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र लेखेको छ । आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले लेखकलाई बयानका लागि उपस्थित हुन आग्रहसहित पत्र लेखिएको जानकारी दिए ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । जेनजी आन्दोलनकोक्रममा भएको मानवीय क्षतिमा लेखक गृहमन्त्री भएकाले जवाफदेही हुनुपर्ने आवाज उठिरहेको छ । त्यस्तै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने तयारी गरेको तर अहिलेसम्म पत्र नकाटिएको अध्यक्ष कार्कीले जानकारी दिए ।
सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । यो आयोगको कार्यकाल तीन महिना तोकिएको थियो। तीन महिनाको समयमा काम नसकिएको भन्दै हालैको मन्त्रिपरिषद् बैठक एक महिना समय थप गर्ने निर्णय गरेको थियो ।





