प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सकेको छ । निर्वाचन सम्पन्न भएसँगै देशभरको मत परिणाम पनि सार्वजनिक भइरहेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भईरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
निर्माणाधीन संसद् भवनको सम्पूर्ण काम अहिलेनै सम्पन्न हुन नसके पनि अबको प्रतिनिधि सभा बैठक सोही भवनमा बस्ने गरी काम भइरहेको छ, जसका लागि तीव्र रुपमा काम भई रहेको विभागले जानकारी दिएको छ ।
भाद्र २४ गतेको जेन्जी आन्दोलन भन्दा पहिले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक आन्दोलनका क्रममा आगजनी गरिएसँगै पूर्णरुपमा क्षति पुगेको छ।
जसका कारण पनि सिंहदरबार भित्र निर्माण गरिएको संसद भवनमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठक बस्ने गरी आवश्यक पूर्वाधारको निर्माण र व्यवस्थापन भइरहेको छ । संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत भइसकेको छ ।
कुल ५ अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते भवनको शिलान्यास गरेका थिए ।






