Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

काठमाडौं महानगरपालिकाले थाल्यो तिहारलक्षित बजार अनुगमन


काठमाडौं महानगरपालिकाले तिहारलक्षित बजार अनुगमन थालेको छ। महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले सोमबार चावहिलका २ वटा मिठाइ पसललाई जरिवाना पनि गरेको छ। महानगरपालिकाको कृषि विभाग प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीका अनुसार दर्ता नगरी, अनुमति नलिई, दर्ता गरे पनि नवीकरण नगरी व्यवसाय कारोबार सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेकाले गुप्ता एन्ड गुप्ता स्विट्स एन्ड चाटलाई १० हजार रूपैयाँ र पूजा स्विट हाउसलाई २० हजार रूपैयाँ जरिवाना गरिएको छ।

‘अनुगमन गरिएका मिठाइ पसलमा कोभिडको स्वास्थ्य मापदण्ड पालना नगरिएको, भान्छाको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरेको, अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ गरेको भेटियो,’ भण्डारीले भने, ‘पूजा स्विट हाउसबाट उपभोग्य मिति गुज्रिएका २ सय ५० ग्राम तौलका हल्दिराम ब्रान्डका ५८ वटा प्याकेट जफत गरियो।’

उनले गुप्ता स्विट एन्ड चाटबाट हल्दिराम ब्रान्डकै २५ प्याकेट र ४ सय ग्रामका २० प्याकेट जफत गरिएको जानकारी पनि दिए। उनका अनुसार सन्तोष स्विट्समा प्रयोग गरिरहेको करिब ५ लिटर खान अयोग्य तेल नष्ट गरिएको छ।

म्याद गुज्रिएको सोना पापड ९ प्याकेट, मुङ दाल ७ प्याकेट, बिकानो पञ्जाबी तड्का ४ प्याकेट, बिकानो भुजिया ४ प्याकेट, बिकानो मिक्स ९० प्याकेट जफत गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाले बजारमा गएर पटक-पटक सचेत गराए पनि पुगेको बेला सुधार गर्छौं भन्ने तर अर्को पटक जाँदा अवस्था उस्तै रहने गरेको बताए। अनुगमनबाट देखिएको बजारको अवस्थाबारे उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मध्यम खालका मिठाइ पसलले गुणस्तरीय खाद्यवस्तु बिक्रीमा ध्यान नदिएको भेटिएको बताए।

 


प्रतिक्रिया दिनुहोस !
विचार