काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खडा गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले आपसी मतभेदहरू समाधान गर्न, विश्वव्यापी शान्ति, स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीति संवादको अपरिहार्यता रहेको बताए । संयुक्त राष्ट्रसंघको बडापत्र लगायत अन्तर्राष्ट्रिय कानुनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।
मन्त्री खनालले जलवायु परिवर्तन र भू–राजनीतिक संकटका कारण सबैभन्दा बढी जोखिममा परेका देशहरू खासगरी नेपाल जस्ता अल्पविकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न उनले विश्व समुदायसँग आग्रह गरे ।








