काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले भण्डारीलाई पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई जिल्ला काठमाडौँ, शंखमुल बस्ने २२ वर्षीय खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खड्काले वडा सचिव भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त अडियो सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा निकाय एवम् अनुसन्धान निकायलाई कडा निर्देशन दिएको थियो ।
शनिबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरेर अनुचित प्रभाव पार्ने, धम्की दिने तथा व्यक्तिलाई भ्रममा पार्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको हो ।






