काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताएका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए।
सरकारको प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए ।
मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजनलगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने बताए । यसअघि सबै विद्यालयलाई समान बजेट पठाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोहीअनुरुप बजेट पठाइने उल्लेख गरे ।
मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए ।





