काठमाडौं। अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने बताएका छन् ।
काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उपविदेशमन्त्री रोजर्सले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हुन् । नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने उनको प्रतिबद्धता छ ।
उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २ सय ५० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता रहेको बताइन् । अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने साहसले बनेको बताउँदै उनले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोर्याउने गरेको उल्लेख गरिन् ।
सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताइन् । उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको बताइन् ।





