काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किर्एलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच हिजो भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको छ । तर मिति भने टुङ्गो लाग्न बाँकी छ । रास्वपा सभापति लामिछाने भने पर्सि दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ ।
परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । यसअघि उनी मौरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए । त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए । मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमतिसमेत भएको थियो ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रोटोकल’ कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिस्रीको भ्रमण स्थगित भएको थियो । यहीबीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरेपछि विवाद बल्झिएको छ ।
मिस्रीको काठमाडौं भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो । तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि १ जुन ९१८ जेठ० का लागि निर्धारित उक्त सम्मेलन स्थगित भयो ।





