Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

पेट्रोलियम पूर्वाधार विस्तार तथा चिया निर्यात समस्या समाधानका लागि सरकार सक्रिय


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास तथा चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले नेपाल आयल निगममार्फत सिलिगुडी–चारआली तथा अमलेखगञ्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी कार्य अगाडि बढिरहेको जानकारी दिइन् ।

उनका अनुसार सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको छ भने अन्य प्राविधिक तयारीका कामहरू पनि नेपाल आयल निगमले अघि बढाइरहेको छ ।

मन्त्री कुमारीले औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरस्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सडक स्तरोन्नति गर्ने तथा औद्योगिक क्षेत्र निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य पनि जारी रहेको बताइन् ।

उनले पेट्रोलियम पदार्थको भण्डारण क्षमता कुल मागको तीन महिनासम्म धान्न सक्ने स्तरमा पुर्याउने सरकारी लक्ष्यअनुसार काम भइरहेको उल्लेख गरिन् ।

चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध हटाउन मन्त्रालयले कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिँदै मन्त्री कुमारीले चिया, अलैंचीलगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान तथा बजार पहुँच विस्तारका लागि सम्बन्धित उद्यमी–व्यवसायीसँग लागत साझेदारीमा वेयरहाउस निर्माण गर्न स्रोत व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार