Logo
९ असार २०८३, मंगलवार
|  Wed Jun 24 2026

इरानमाथिको तेल प्रतिबन्ध ६० दिनका लागि फुकुवा


तेहरान । इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरेको आणविक निरीक्षकहरूलाई पुनः देशभित्र प्रवेश दिन सहमति भएको दाबी अस्वीकार गरेको छ ।

स्विट्जरल्यान्डमा अमेरिका–इरानबीच भएको पहिलो चरणको वार्तापछि भान्सले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूसँगको प्रक्रिया चाँडै सुरु हुन सक्ने बताएका थिए । तर इरानी विदेश मन्त्रालयले तेहरानले निरीक्षणसम्बन्धी कुनै नयाँ प्रतिबद्धता नगरेको स्पष्ट पारेको छ।

यसैबीच अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा ६० दिनका लागि राहत दिएको छ। अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विशेष अनुमतिअनुसार इरानले आगामी अगस्ट २१ सम्म कच्चा तेल तथा पेट्रोकेमिकल उत्पादन र बिक्री गर्न पाउनेछ।
संयुक्त वक्तव्यमा मध्यस्थकर्ता कतार र पाकिस्तानले अमेरिका र इरान ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने कार्ययोजनामा सहमत भएको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले प्रतिबन्ध छुटको बदलामा इरानले होर्मुज नाका खुला राख्ने र आइएईएका निरीक्षकहरूलाई पुनः प्रवेश दिन सहमति जनाएको दाबी गरेका छन्। तर इरानले यस्तो कुनै नयाँ सहमति नभएको बताएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राष्ट्रसंघका निरीक्षकहरूसँगको कुनै पनि सहकार्य विद्यमान कानुनी प्रक्रियाअनुसार मात्र हुने बताएका छन्।

आइएईएले यस विषयमा तत्काल प्रतिक्रिया दिएको छैन । गतवर्ष इजरायल र अमेरिकाको बमबारीपछि इरानले आफ्ना आणविक स्थलहरूमा आइएईएको पहुँच निलम्बन गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले आफ्ना बाँकी निरीक्षकहरू पनि इरानबाट फिर्ता बोलाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार