Logo
९ असार २०८३, मंगलवार
|  Wed Jun 24 2026

‘हामीले पनि गुटउपगुट बनायौँ भने परिणाम पुराना पार्टीको जस्तै हुन्छ।फरक आउँदैन:रवि लामिछाने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् । महाधिवेशनको बन्दसत्रलाई मंंगलबार सम्बोधन गर्दै सभापति लामिछानेले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताए ।

सभापति लामिछानेले भने, ‘हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन । फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।’

प्रतिनिधि चयन गर्दा विवेकपूर्वक गरिएको उनको भनाइ थियो । प्रतिनिधिहरूले तिरेको पाँच हजार ऐच्छिक बनाइएको भन्दै उनले त्यही पाँच हजार आवश्यक परे फिर्ता लैजान सक्ने बताए ।

महाधिवेशन निर्वाचनको सन्दर्भमा उनले जसले जिते पनि घण्टीबाहकले जित्ने विश्वास व्यक्त गरे । सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारे । उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताए ।

पार्टीभित्र हुने सामान्य असन्तुष्टि र मनमुटावलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराए ।

रास्वपा आफ्ना सबै मतभेद अन्त्य गर्न सक्ने पार्टी भएको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उनले विना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार