Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

भेनेजुएला भूकम्प:१० तले होटलसमेत ध्वस्त,२३५ को मृत्यु,१५ सय भन्दाबढी घाइते


बीबीसी । भेनेजुएलाको राजधानी काराकास नजिक बुधबार आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । भूकम्पपछि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्।

राजधानी काराकास र तटीय सहर ला गुआइरामा दर्जनौं भवन भत्किएका छन्। भग्नावशेषमुनिबाट मानिसहरूले सहयोगका लागि पुकार गरिरहेको उद्धारकर्मीहरूले बताएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ भने सयौं परिवार घरविहीन बनेका छन्। धेरै स्थानीयवासी क्षतिग्रस्त भवनमा बस्न असुरक्षित ठानेर सडकमै रात बिताइरहेका छन्।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्कालीन अवस्था घोषणा गरेकी छन्। राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजका अनुसार हालसम्म करिब २५० वटा भवन पूर्ण रूपमा ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसमध्ये अधिकांश ला गुआइरामा रहेका छन्। त्यहाँ १० तले होटलसमेत पूर्ण रूपमा भत्किएको पुष्टि भएको छ।

उद्धार कार्यमा सहयोग गर्न अमेरिका सहित विभिन्न देशहरूले सहायता घोषणा गरेका छन्। अमेरिकाले १५ करोड अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराउने घोषणा गर्दै खोज तथा उद्धारका लागि सैनिक विमान र जहाज परिचालन गर्ने जनाएको छ।

गृहमन्त्री डियोसदादो काबेलोका अनुसार काराकासका साथै ट्रुहिलो, याराकुय, काराबोबो, अरागुआ र मिरान्डा राज्यमा पनि ठूलो क्षति पुगेको छ। काराकास महानगरअन्तर्गतको चाकाओ क्षेत्रमा मात्र एक भवनबाट ११ जनाको शव निकालिएको र २३ जनाको सकुशल उद्धार गरिएको स्थानीय मेयर गुस्ताभो डुकेले जानकारी दिएका छन्।

यसैबीच, राजधानी बाहिर रहेको माइकेटिया अन्तर्राष्ट्रिय विमानस्थल गम्भीर क्षतिका कारण बन्द गरिएको छ। विमानस्थलभित्रको छतबाट धुलो र भग्नावशेष खसेको भिडियो सार्वजनिक भएको छ।

भूकम्पपछि क्षेत्रमा लगातार पराकम्प आइरहेका छन्। सरकारी टेलिभिजनका अनुसार हालसम्म ३० भन्दा बढी पराकम्प रेकर्ड भइसकेका छन्। अधिकारीहरूले उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार