जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न जाँदा आफूमाथि नेपाल प्रहरीले गरेको बर्बर दमन र कुटपिटविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि एक विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिएको बताए ।
अन्सारीका अनुसार कीर्तिपुरमा बाढी पीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनलाई र उनका साथीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो । क्यामेराले नदेख्ने ठाउँमा लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले उल्लेख गरेका छन् ।
उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्याइएका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको दाबी गरेका छन् । मेरो मेडिकल हिस्ट्रीमा प्रहरी कुटपिट भन्ने शब्द समेत लेख्न नदिन कोसिस गरियो, उनले भनेका छन्, क्याबिनभित्रै सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की दिइयो ।
अन्सारीले आफूलाई करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्रतापूर्वक उपचार पाउने हकबाट समेत वञ्चित गर्न खोजिएको बताएका छन् ।





