नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको टाउको र घाँटी क्यान्सर विभाग (Head & Neck Department) ले १० वर्षको अवधिमा ५ हजार भन्दा बढी बिरामीको मुख, जिब्रो,गाला र ओठको साथै घाँटीको क्यान्सरको शल्यक्रिया गरी सफल उपचार गरेको तथ्यांक आज सार्वजनिक गरेको छ ।
अस्पतालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले पछिल्लो समयमा धुमपान, सुर्ती, पराग र भेप सेवन गर्ने २० देखि ४० वर्षका युवा समूहमा मुखको क्यान्सर देखिएको र आफूमा क्यान्सर भए नभएको बेलैमा पत्ता लगाउन उनीहरूले बिशेषज्ञ डाक्टरसंग जँचाउन सुझाव दिए।
सो अस्पतालको नाक, कान, घाँटी विभागका प्रमुख, वरिष्ठ सर्जन डा प्रभात चन्द्र ठाकुरले मुख र घाँटीको क्यान्सर भएका बिरामीहरू उपचारको लागि अस्पतालमा आउँदा उनीहरुमा क्यान्सरको अवस्था तेस्रो र चौथो स्टेजमा पुगिसकेको हुने बताउँदै सुर्तीजन्य पदार्थ सेवन गर्ने सबैलाई समयमै आफ्नो मुखको स्वास्थ्य परिक्षण गरी ज्यान र पैसा जोगाउन आग्रह गरे ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.बिजेशराज घिमिरेले १० वर्षको अवधिमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले मुख र घाँटीको क्यान्सरको शल्यक्रिया र उपचारमा उल्लेखनीय सफलता पाएको बताए ।
अर्का वरिष्ठ सर्जन डा. कपेन्द्र शेखर अमात्यले टाउको र घाँटीको क्यान्सरको उपचारको लागि कुनैपनि विरामी भारत र तेस्रो मुलुक जानु नपर्ने बताए ।
त्यस अवसरमा अस्पतालको रेडिएसन थेरापी विभाग प्रमुख डा. गिसुपनिख प्रसिको र प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले पनि बोलेका थिए । ।






