ललितपुर ३० साउन । हरित ललितपुर सफाई सञ्जालद्वारा शनिबार आयोजित वृहत वृक्षारोपण कार्यक्रम अन्तर्गत ग्वार्को-पनौती राजमार्गमा पर्ने इमाडोलको कृष्ण मन्दिरदेखि महालक्ष्मी नगरपालिका कार्यालय अगाडिसम्म सडकको दायँबायाँ किनारमा विभिन्न प्रजातिका विरुवा रोपियो।
शनिबार कटुस, समी, काइँयो र असारे लगायत विभिन्न प्रजातिका २०७ वटा विरुवा रोपिएको आयोजक सञ्जालका उपाध्यक्ष एवं सृजनासीप सेवा प्रालिका प्रवन्ध निर्देशक सहदेव संकल्प राउतले बताए । उनका अनुसार सञ्जालले हालसम्म ललितपुरका विभिन्न ठाउँमा १५ सय विरुवा रोपिसकिएको छ ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उद्घाटन गरेको वृक्षारोपणमा उपप्रमुख लक्ष्मी महर्जन, मिस्टर नेपाल २०२६ हिमाञ्चल राज केसीलगायत सो नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, स्थानीय वासिन्दा, समाजसेवी, पत्रकार, व्यवसायी, वातावरणविद् लगायतले विरुवा रोपेका थिए ।
आज रोपिएका ती विरुवाहरुको रेखदेख र हेरचाह महालक्ष्मी नगरपालिकाले गर्ने नगरप्रमुख श्रेष्ठले बताए । सिर्जनसीप सेवा प्रालि, नेपाल फुलबारी सेवा प्रालि र नेप्को सेवा प्रालिले आजको वृक्षारोपण कार्यक्रमको व्यवस्था गरेका थिए ।










