Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

रसुवा बाढीपछि प्रधानमन्त्रीले दिए यस्तो जानकारी


प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीसँगै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित र अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको जानकारी दिएका हुन्।

उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया समेत अघि बढाइएको उनले बताएका छन्।

नुवाकोट, धादिङसहितका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले जनाएका छन्। प्रभावित क्षेत्रका नागरिकलाई एसएमएस र फोनमार्फत समेत सुरक्षित स्थानमा जान अलर्ट गरिएको उनले बताए।

सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न भनिएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको प्रधानमन्त्री शाहले बताएका छन्।

आगामी आवश्यक कदमबारे निर्णय गर्न केही समयमै उच्चस्तरीय बैठक बोलाइएको पनि उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार