Logo
२२ भाद्र २०८३, सोमबार
|  Mon Sep 7 2026

जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपतिको आह्वान


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई अहिले राज्यको साथ, भरोसा र प्रभावकारी सहयोग आवश्यक रहेको बताएका छन् ।

रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले घरबारविहीन, आफन्त गुमाएका, विस्थापित तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा अत्यन्त गहिरो रहेको बताएका हुन् ।उनले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा बुझ्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे ।

राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार, खोजी, राहत, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई अझ प्रभावकारी बनाउन राज्यका सबै तह, निकाय र संरचनाबीच आवश्यक समन्वय भइरहेको बताए ।परिवारका सदस्य तथा आफन्तको सम्पर्कमा नआएका नागरिकको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै उहाँले अनिश्चितताको यो पीडादायी क्षणलाई सिङ्गो राष्ट्रले महसुस गरिरहेको बताए ।

उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार र मनोसामाजिक सेवाको सुनिश्चितता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

मृतकको पहिचान सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले आवश्यकतानुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राखी पहिचान प्रक्रिया विश्वसनीय र व्यवस्थित बनाउनुपर्ने बताए ।

भदौ १० गते हिमनदीको बरफ र चट्टानसहित आएको हिमपहिरोपछि भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको उल्लेख गर्दै उनले सडक, पुल, जलविद्युत् आयोजनालगायत महत्वपूर्ण पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार