Logo
२१ आश्विन २०८३, बुधबार
|  Wed Oct 7 2026

‘‘कांग्रेसभित्र अब औपचारिक रूपमा गुट छैन,देउवासहितका अग्रज नेता मञ्चमा नहुँदा नमिठो लागेको छ’ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले  विगतका समूह र पक्षलाई बिर्सेर पार्टीको भविष्यका लागि निर्णय लिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

थापाले कांग्रेसमा विगतमा रहेका विभिन्न समूह अब समाप्त भएको दाबी गरे । उनले भने, ‘कांग्रेसभित्र अब औपचारिक रूपमा गुट छैन। ७४, ३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष, नियमित सबै समूह आजदेखि सकियो ।’

उनले महाधिवेशनस्थलमा ‘गगन थापा समूह’का नाममा चिट बाँडिएको आफूले देखेको उल्लेख गर्दै  पार्टीभित्र फेरि गुटको पहिचान स्थापित गर्ने प्रयास नगर्न आग्रह गरे । थापाले महाधिवेशनलाई कांग्रेसभित्रको विभाजन अन्त्य गरी नयाँ सुरुआत गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने उनको भनाइ थियो। महाधिवेशन प्रतिनिधिहरूले कुनै समूहको दबाब वा प्रभावमा नपरी कांग्रेसको आगामी दिशा र भविष्यलाई ध्यान दिएर मतदान गर्नुपर्ने उनले बताए।

थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहित विगतमा कांग्रेस निर्माणमा योगदान गरेका नेताहरू महाधिवेशनको मञ्चमा नहुँदा आफूलाई दुःख लागेको पनि बताए। उनले देउवाले पार्टी निर्माणमा पुर्याएको योगदान र लामो राजनीतिक संघर्षको स्मरण गर्दै सबै अग्रज नेताहरूको सम्मान हुनुपर्नेमा जोड दिए।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई पनि अब टुंग्याएर अघि बढ्नुपर्ने थापाको धारणा थियो। सर्वोच्च अदालतमा पटक–पटक पुगेको विवादलाई निरन्तरता दिनुभन्दा पार्टीलाई एकताबद्ध बनाउने दिशामा लाग्नुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार