Logo
७ कार्तिक २०८३, शनिबार
|  Sat Oct 24 2026

जलवायु न्यायलाई प्राथमिकता दिन विश्व समुदायसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन् ।

चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाएको उनको सचिवालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापी शासन जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको प्रसङ्ग उल्लेख गर्दै हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा भएको बताएकी छन् ।

उनले संयुक्त राष्ट्रसंघीय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्दै जलवायु जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।

शान्ति र विकास एकअर्काका परिपूरक भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले गरिबी र भोकमरीको अन्त्य, मानव कल्याणको प्रवर्द्धन तथा हतियारको होडमा खर्च हुने स्रोतसाधनलाई विकासमा परिचालन गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व भएको पनि स्पष्ट पारिन् ।

साथै, सो सम्बोधनका क्रममा उनले समावेशी, उत्थानशील र वातावरणमैत्री विकासका लागि सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइन् । उनले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखि नै सांस्कृतिक आदानप्रदान, बौद्ध दर्शन र जनस्तरको आत्मीयताबाट विकसित हुँदै आएको पनि स्पष्ट गरिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार