काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटको उत्साहलाई सङ्गीतसँग जोड्ने उद्देश्यले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ।
‘एक्स्ट्रीम एन्थम’ युनिक पोयटको नामले परिचित उत्सव जोशीको स्वर तथा शब्दमा तयार गरिएको हो। गीतमा ब्लुस अर्थात् सुरज शाहीको सङ्गीत सिर्जना तथा संयोजन रहेको छ भने यसको निर्माण एनएफटीपी टोलीले गरेको हो।
विशेषगरी युवा पुस्ताको साङ्गीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर एन्थम तयार गरिएको कम्पनीले जनाएको छ।
क्रिकेट मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश, चौका–छक्कामा दर्शकले मनाउने खुसी र आफ्नो टोलीको जितका लागि समर्थकमा देखिने उत्साहलाई समेटेर कम्पनीले नयाँ साङ्गीतिक प्रस्तुति ल्याएको हो।
कम्पनीका अनुसार खेलाडीको जित्ने अठोट, टोलीप्रति समर्थकको अटुट विश्वास र दर्शकदीर्घाबाट गुञ्जिने उत्साहलाई एउटै साङ्गीतिक लयमा बाँध्ने प्रयास गरिएको छ।
एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ।त्यस्तै, पोखरा एभेन्जर्ससँग भने खेलाडीको जर्सीको छातीमा कम्पनीको लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ।
‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब च्यानल तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।








