Logo
१० कार्तिक २०८३, मंगलवार
|  Tue Oct 27 2026

गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँचको मृत्यु,एक जना घाइते


गुवाहाटी । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एउटै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गोली लागेर घाइते भएका छन् ।

सम्पत्ति विवादको आशंकामा गुवाहाटीस्थित परिवारकै स्वामित्वमा रहेको होटलमा गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटना सहरको व्यस्त सडक जीएस रोडस्थित होटल बिलास इनमा गएराति करिब ९ बजे भएको हो । घटनाको एक घण्टाभित्रै प्रहरीले गोली चलाएको आरोपमा घनकान्त गोगोईलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीसँग रहेको लाइसेन्स प्राप्त ३२ बोरको पेस्तोलसमेत बरामद गरेको जनाएको छ । गुवाहाटीका प्रहरी आयुक्त पार्थसारथी महन्तका अनुसार गोगोईले गत वर्ष होटल सञ्चालकबाट होटल भाडामा लिएका थिए । होटलको भाडा सम्झौतासम्बन्धी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृत्यु हुने पाँच जनामध्ये चार जना होटलका मालिक पक्षका एउटै परिवारका सदस्य रहेका र अर्का एक मृतक तथा घाइते व्यक्ति होटल सञ्चालककै गाउँका रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार