काठमाडौँ । विश्वव्यापी फिल्म फेस्टिभलका अग्रज, सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्काे मुलर काठमाडौँ आइपुगेका छन् ।
काठमाडौँ फिल्म फेस्टिभल (केएफएफ) मा सहभागी हुन उनी नेपाल आएका हुन्। फेस्टिभलका क्रममा मुलरले ‘द इम्पोर्टेन्स अफ फिल्म एस्थेटिक्सः ग्लोबल साउथ एन्ड द इन्टरनेसनल फेस्टिभल सर्किट’ शीर्षकमा मास्टर क्लास सञ्चालन गर्नेछन्। उक्त सत्रमा फिल्मको सौन्दर्यशास्त्र, ग्लोबल साउथको सिनेमा र अन्तर्राष्ट्रिय फिल्म महोत्सवको भूमिकाबारे चर्चा हुने अपेक्षा गरिएको छ।
मुलर विश्व सिनेमाका प्रभावशाली फिल्म फेस्टिभल निर्देशकका रूपमा परिचित छन्। उनले इटालीको भेनिस फिल्म फेस्टिभल, स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभल, नेदरल्यान्ड्सको रोटरड्याम फिल्म फेस्टिभल र रोम फिल्म फेस्टिभललगायत प्रतिष्ठित महोत्सवको नेतृत्व गरिसकेका छन्।
उनले सन् १९८२ देखि १९८९ सम्म पेसारो फिल्म फेस्टिभल, सन् १९८९ देखि १९९१ सम्म रोटरड्याम फिल्म फेस्टिभल र सन् १९९२ देखि २००० सम्म लोकार्नो फिल्म फेस्टिभलको निर्देशकका रूपमा काम गरेका थिए। त्यसैगरी, सन् २००४ देखि २०११ सम्म भेनिस फिल्म फेस्टिभल र सन् २०१२ देखि २०१४ सम्म रोम फिल्म फेस्टिभलको नेतृत्व गरेका थिए।
मुलरले चीनमा फुझोउ सिल्क रोड फिल्म फेस्टिभल, माकाउ इन्टरनेसनल फिल्म फेस्टिभल, पिङयाओ फिल्म फेस्टिभल र हाइनान फिल्म फेस्टिभलजस्ता महोत्सवमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। सन् १९८२ मा उनले इटालीको टुरिनमा चिनियाँ फिल्मको पुनरावलोकन कार्यक्रम ‘ओम्ब्रे एलेट्रिचे’ स्थापना तथा निर्देशन गरेका थिए।
फिल्म महोत्सवको विकास र विश्व सिनेमाको प्रवद्र्धनमा योगदान पुर्याएका मुलर नेदरल्यान्ड्समा ह्युबर्ट बाल्स फन्ड र सिनेमार्ट तथा स्विट्जरल्यान्डमा मोन्टेसिनेमाभेरिते फिल्म फन्ड स्थापना गर्ने व्यक्तिमध्ये पनि हुन्। यी पहलले अन्तर्राष्ट्रिय स्तरमा फिल्म निर्माण तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्न सहयोग पुर्याएका छन्।
फिल्म निर्माताका रूपमा उनले ११ वटा फिचर फिल्म निर्माण गरेका छन्। तीमध्ये केही फिल्म कान्स, भेनिस र बर्लिनजस्ता प्रतिष्ठित फिल्म महोत्सव तथा एकेडेमी अवार्डमा सम्मानित भएका छन्। युरोपेली र एसियाली सिनेमासम्बन्धी २० भन्दा बढी पुस्तक लेखन तथा सम्पादनसमेत गरेका मुलर हाल सांघाई विश्वविद्यालयअन्तर्गत फिल्म आर्टस् रिसर्च सेन्टरका निर्देशक तथा सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक छन्।
काठमाडौँ फिल्म फेस्टिभलमा उनको सहभागिता नेपाली फिल्मकर्मी तथा सिनेमा अध्ययनमा रुचि राख्नेहरूका लागि विश्व सिनेमाको सौन्दर्यशास्त्र, अन्तर्राष्ट्रिय फिल्म महोत्सव र विश्व बजारमा फिल्मको पहुँचबारे बुझ्ने अवसरका रूपमा रहनेछ।








