काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारस्वरूप चाँदीको बल प्राप्त गर्ने भएका छन् । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्ने उद्देश्यले यस्तो पहल गरेको हो ।
आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन् । यसले खेलको नतिजासँगै व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिने कम्पनीको भनाइ छ ।
एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कार वितरण सुरु भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।








