Logo
१० कार्तिक २०८३, मंगलवार
|  Tue Oct 27 2026

ह्यारी केनले प्रतिष्ठित बालोन डी’ओर अवार्ड जिते


एजेन्सी  । इंग्ल्यान्डका कप्तान तथा बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन् । लन्डनमा आयोजित समारोहमा केनलाई पुरुषतर्फ वर्षको उत्कृष्ट फुटबल खेलाडी घोषित गरिएको हो ।

३३ वर्षीय केन सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । उनी यो अवार्ड जित्ने पाँचौँ इंग्लिस खेलाडी हुन् । यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए ।

गत सिजन बायर्न म्युनिखका लागि उत्कृष्ट प्रदर्शन गरेका केनले क्लबका तर्फबाट ५१ खेलमा ६१ गोल गरेका थिए । यो एक सिजनमा बायर्नका कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो । इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका खेलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ असिस्ट गरेका थिए ।

यद्यपि, गत सिजन केनले क्लब तथा राष्ट्रिय टोलीबाट कुनै पनि प्रमुख उपाधि जित्न सकेका थिएनन् । बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो भने इंग्ल्यान्ड पनि विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो ।

बालोन डी’ओर जितेसँगै केन सन् १९८१ मा कार्ल-हेन्ज रुमेनिग्गेपछि यो अवार्ड जित्ने पहिलो बायर्न म्युनिखका खेलाडी बनेका छन् । पुरुषतर्फ रियल म्याड्रिड तथा फ्रान्सका किलियन एम्बाप्पे दोस्रो र बार्सिलोना तथा स्पेनका युवा फरवार्ड लामिन यामल तेस्रो स्थानमा रहे ।

केनको सफलताको खुसीयालीमा सोमबार राति लन्डनस्थित वेम्बली रंगशालाका आर्चहरू सुनौलो रङमा उज्यालो पारिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार