Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

शुक्रबार र शनिबार भारी वर्षाको प्रक्षेपणः वर्षा र हिमपातको जोखिमबाट सतर्क रहन आग्रह


काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहीबारदेखि चक्रवात ‘अर्नब’को प्रभावसमेत पर्ने भएकाले देशका अधिकांश भूभागमा बादल लाग्ने तथा वर्षा र हिमपातको सम्भावना रहेको हो।

बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

बुधबार राति देशभर सामान्यतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

बिहीबारदेखि वर्षाको मात्रा बढ्ने अनुमान गरिएको छ। बिहीबार दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार मौसम थप सक्रिय हुने देखिएको छ। देशभर अधिकांश बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि यस्तो सम्भावना रहेको छ।

शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा वा हिमपात तथा एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातको सम्भावना छ।

आइतबारदेखि भने मौसममा क्रमिक सुधार हुने संकेत देखिएको छ। त्यस दिन देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार