Logo
१३ कार्तिक २०८३, शुक्रबार
|  Fri Oct 30 2026

लागूऔषध कारोबारीमाथि प्रहरीको गोली, दुई जना घाइते, तीन पक्राउ


मोरङ । लागूऔषध नियन्त्रण ब्यूरोले ५०० ग्राम खैरो हेरोइन र पेस्तोलसहित मोरङमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली नागरिक रहेका छन्।

ब्यूरोका अनुसार भारतमा बसेर नेपालमा लागूऔषध आपूर्ति गर्दै आएको गिरोहको लामो समयदेखि निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

बिहीबार भारतको अररियाबाट मोरङको रतुवामाई नगरपालिका–६ तर्फ दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले रोकेर जाँच गर्न खोजेको थियो। सोही क्रममा भारतीय नागरिक २२ वर्षीय दीपक कुमार बोसाकले आफूसँग रहेको पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेका थिए।

प्रहरीले चेतावनीस्वरूप पाँच राउन्ड हवाई फायर गर्दा पनि पेस्तोल ताक्न नछाडेपछि गोली चलाएको ब्यूरोले जनाएको छ। प्रहरीको गोली लागेर दीपकको बायाँ खुट्टाको घुँडामुनि एक राउन्ड र अर्का भारतीय नागरिक ४० वर्षीय पुरन कुमार बोसाकको दाहिने खुट्टाको घुँडामुनि दुई राउन्ड गोली लागेको छ। घाइते दुवैको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ।

पक्राउ पर्ने नेपाली नागरिक मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्र ठाकुर हुन्। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवा बुझाइएको ब्यूरोले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल, एक राउन्ड गोली, दुई थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार