Logo
१५ कार्तिक २०८३, आईतवार
|  Sun Nov 1 2026

स्पेनिस लिग ला लिगामा बार्सिलोनाको फराकिलो जित


एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो आल्भेसलाई ६-१ गोलले पराजित गर्दै बार्सिलोनाले आफ्नो लय समातेको हो । यसअघि बार्सिलोना चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग २-१ र च्याम्पियन्स लिगमा पीएसजीसँग ४-२ गोलले पराजित भएको थियो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामाल र राफिन्हाले समान दुई/दुई गोल गर्दा फेर्मिन लोपेज र एन्थोनी गोर्डनले एक/एक गोल थपे । आल्भेसको लागि मारियानो डियाजले एक गोल फर्काए । खेलको आठौँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

२३ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ४१ औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई फराकिलो जिततर्फ अगाडि बढाएका थिए । पहिलो हाफको इन्जुरी समयमा यामालले गोल गर्दै घरेलु टोलीलाई ४-० गोलको अग्रता दिलाए ।

६४ औँ मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले खेलमा ५-० गोलको अग्रता लिएको थियो । ८१ औँ मिनेटमा गोर्डनले गोल गर्दै बार्सिलोनालाई ६-० गोलले अगाडि बढाए । यस्तै ८४ औँ मिनेटमा डियाजले पाहुना टोलीको लागि सान्तवना गोल गरे ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ६-१ गोलले पराजित भएको हो । जितसँगै बार्सिलोना ११ खेलबाट ३० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ भने समान खेलबाट १२ अंक जोडेको आल्भेस दसौं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार