काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । जनकपुर आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने पोखरा पहिलो जितको स्वाद चाख्न चाहन्छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै पुनरागमन गरेको थियो ।
यता पोखरा भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । हाल जनकपुर २ खेलबाट २ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा रहेको छ भने एक खेल कम खेलेको पोखरा अंकविहीन रहँदै पुछारमा रहेको छ ।
शनिबारको खेल वर्षाले प्रभावित भएपनि आज पुरै खेल हुने उच्च सम्भावना रहेको छ । शनिबारको पहिलो खेल वर्षाको कारण रद्द हुँदा दोस्रो खेल पाँच ओभरको खेलाइएको थियो । वर्षाको कारण मैदान भिजेपछि दोस्रो खेलमा बाउन्ड्री छोट्याएर पाँच ओभरमा खेल झारिएको थियो ।








