काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका विषयमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार र आरोपप्रति आपत्ति जनाउँदै ती भ्रामक र तथ्यहीन रहेको दाबी गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको सचिवालयले सोमबार विज्ञप्ति जारी गरी सरकारका पछिल्ला गतिविधिबाट विषयान्तर गर्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम र आरोप फैलाइएको जनाएको हो ।विज्ञप्तिमा कांग्रेसले पार्टीको विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसको नेतृत्व र निर्णयको आधिकारिकतालाई निर्वाचन आयोग र अदालतका निर्णयले पुष्टि गरिसकेको उल्लेख गरेको छ ।
त्यस्तै, नेपालको संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप मजबुत बनाएको सचिवालयको दाबी छ ।
कांग्रेसले सरकार लोकतन्त्र र नागरिक स्वतन्त्रताको प्रतिकूल दिशामा अघि बढ्दा पार्टीले त्यसको विरोध गर्दै आएको पनि जनाएको छ । लोकतन्त्र, जनअधिकार र विधिको शासनका पक्षमा आवाज उठाउँदा कांग्रेसविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास हुने गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सभापति थापाले बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने धारणा राखेको स्मरण गराएका छन् । विज्ञप्तिमा दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने र यसमा सरकारलाई कांग्रेसको पूर्ण साथ रहने पनि उल्लेख गरिएको छ ।
तर अनुसन्धानमा संलग्न निकायबाटै छानिएका विवरण र कथित बयान सञ्चारमाध्यममा सार्वजनिक भइरहेकाले अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको कांग्रेसको भनाइ छ । यसले प्रमाण लुकाउने वा नष्ट गर्ने तथा समग्र अनुसन्धान प्रभावित पार्ने आशङ्का उत्पन्न गरेको सचिवालयले जनाएको छ ।
कांग्रेसले कुनै पनि निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ । यस विषयमा पार्टीको संसदीय दलले समेत निष्पक्ष छानबिनको मागसहित निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।








