काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगनकुमार थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि उठेका प्रश्नको जवाफ मागेका छन् ।
सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले विधिको शासन भएको भए गगन थापालाई कुन अपराधमा र कुन कानुनी आधारमा गिरफ्तार गर्न खोजिएको हो भन्ने प्रश्न उठाउन सकिने बताए । उनले बिना पक्राउ पुर्जी प्रहरी न्यूजरुममा प्रवेश गर्ने शासनमा के हुन्छ र के हुँदैन भनेर अनुमान गर्न नसकिने टिप्पणी गरे ।
पौडेलले इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको विषयलाई गम्भीर भन्दै त्यसबारे प्रश्न उठाएका छन् । उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने आरोपबारे कसले जवाफ दिने भन्दै उनले प्रश्न गरेका छन् ।
प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्नेमा डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो भन्ने विषयको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ ।
त्यस्तै, प्रधानमन्त्री र उनको सचिवालयको बिचौलियासँगको सम्बन्ध, उनलाई लामो समयसम्म संरक्षण गरिएको विषय तथा त्यसमा कसको पहुँच र प्रभाव रहेको थियो भन्नेबारे पनि पौडेलले प्रश्न उठाएका छन् ।
उनले प्रमाण नष्ट गरेको, अनुसन्धानको क्रममा बरामद मोबाइल अनधिकृत रूपमा नियन्त्रणमा राखेको र डिजिटल सामग्रीमा छेडछाड गरेको आशंकालगायत विषयमा सत्तापक्षले जवाफ दिनुपर्ने जिकिर गरेका छन् ।
पौडेलले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्नेसम्बन्धी कानुनी व्यवस्थातर्फ ध्यानाकर्षण गराउँदै यस विषयमा कानुनी सल्लाहकारसँग जवाफ माग्न पनि सुझाव दिएका छन् ।








