उलानबटोर । विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । विपक्षी डेमोक्रेटिक पार्टीले उनीमाथि भ्रष्टाचारको आरोप लगाउँदै पद त्याग्न वा संसद्मा महाभियोगको सामना गर्न आह्वान गरेको एक दिनपछि राष्ट्रपतिले मङ्गलबार राजीनामाको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले आफूलाई झुटा आरोप लगाएर गम्भीर अपराधमा संलग्न भएको भन्दै बदनाम गरिएको बताए । आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्न राजीनामा दिन लागेको उनको भनाइ थियो ।
डेमोक्रेटिक पार्टीले सोमबार देशमा गहिरो भ्रष्टाचार रहेको आरोप लगाउँदै राष्ट्रपति खुरेलसुखसहित वरिष्ठ सरकारी अधिकारीहरूलाई पदबाट राजीनामा दिन र अनुसन्धानको सामना गर्न आग्रह गरेको थियो । तर, राष्ट्रपतिले आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा जनता वा राज्यको सम्पत्ति कहिल्यै चोरी नगरेको बताए ।
“मैले कहिल्यै झुट बोलेको वा चोरी गरेको छैन । कसैलाई धोका पनि दिएको छैन”, उनले भने । मङ्गोलिया पछिल्ला महिनादेखि राजनीतिक अस्थिरता र सत्तारूढ मङ्गोलियन पिपुल्स पार्टी (एमपीपी) भित्रको आन्तरिक विवादबाट गुज्रिरहेको छ ।
भ्रष्टाचारविरुद्ध हप्तौँसम्म प्रदर्शन भएपछि मार्चमा सांसदहरूले एक वर्षभन्दा कम अवधिमा तेस्रो प्रधानमन्त्री नियुक्त गरेका थिए । राजधानी उलानबटोरमा हजारौँ युवाले धनी अभिजात वर्ग र आफूहरूले व्यापक अन्यायका रूपमा लिएको अवस्थाविरुद्ध प्रदर्शन गरेका थिए ।








