Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

खानेकुरामा नसालु पदार्थ मिसाएर लुट्ने गिरोहका चार सदस्य पक्राउ


काभ्रे । नसालु पदार्थ मिसाइएको खानेकुरा तथा पेय पदार्थ खुवाएर मानिसलाई बेहोस बनाई गरगहना तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाकी ५० वर्षीया संगीता तामाङ (कार्की), काभ्रेका ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाका ४६ वर्षीय नवराज घिमिरे विक र काभ्रेका ३२ वर्षीय प्रविन सुनुवार रहेका छन् ।

प्रहरीका अनुसार संगीता र वीरध्वजले विभिन्न स्थानमा सर्वसाधारणलाई फलफूलको जुस, दूध तथा अन्य खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि नगद तथा गरगहना लुट्ने गरेको अनुसन्धानबाट खुलेको छ । लुटिएका सुनका गरगहना खरिद गर्ने कार्यमा नवराज र प्रविन संलग्न रहेको प्रहरीको भनाइ छ ।

उनीहरूले काभ्रेका विभिन्न स्थानमा चारवटा लुटपाटका घटना घटाएका थिए । गत भदौ १० गते बनेपा नगरपालिका–४ मा ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई दूधमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो । उनीहरूको साथबाट सुनका गरगहना लुटिएको थियो । घटनापछि हिरामाया सात दिनसम्म अस्पतालमा उपचाररत रहेकी थिइन् ।

त्यस्तै, भदौ २३ गते नमोबुद्ध नगरपालिका–११ मा ६७ वर्षीया पञ्चमाया तामाङलाई खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको र उनको कानमा लगाएको सुनको रिङ लुटिएको थियो ।

असोज २४ गते बनेपा नगरपालिका–६ मा सिन्धुपाल्चोकका ५४ वर्षीय गंगाबहादुर गुरुङलाई फ्रुटीमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि नगद चार हजार रुपैयाँ र चारवटा राडी लुटिएको थियो । बेहोस भएका गुरुङको शिर मेमोरियल अस्पतालको आईसीयूमा चार दिन उपचार भएको थियो ।

त्यसैगरी, असोज २८ गते बनेपा नगरपालिका–३ मा पनौतीका ५१ वर्षीय हेमबहादुर बस्नेतलाई लेमन जुसमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाई सुनको सिक्री, औँठी र मोबाइल लुटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा लुटिएका गरगहना भक्तपुरको मध्यपुरथिमि–४ स्थित जय शिव शक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे विकले बिलबिना खरिद गरेको खुलेको छ । त्यस्तै, पञ्चमाया तामाङको गरगहना धुलिखेलस्थित गणेश सुनचाँदी पसलका सञ्चालक प्रविन सुनुवारले खरिद गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले संगीता तामाङलाई कात्तिक १५ गते बनेपाको चारदोबाटोबाट पक्राउ गरेको थियो भने वीरध्वज तामाङलाई बौद्ध वृत्तमा दर्ता भएको चोरी मुद्दामा धरौटीमा छुटेपछि कात्तिक ३ गते बनेपा प्रहरीमा दाखिला गरिएको थियो । नवराज र प्रविनलाई मंसिर ६ गते क्रमशः भक्तपुर र काभ्रेको खड्पुबाट पक्राउ गरिएको हो ।

प्रहरीले संगीता तामाङको साथ तथा कोठाबाट तीन ग्राम सेतो धुलो पदार्थ, घटनामा प्रयोग भएको मोबाइल बरामद गरेको छ । नवराजको सुन पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको अवस्थामा सुनजस्तो देखिने धातुका टुक्रा तथा प्रविनको पसलबाट ११.६८ ग्राम तौलको सुनजस्तो देखिने एक जोर रिङ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार संगीता र वीरध्वज यसअघि पनि चोरीका घटनामा संलग्न रहेको देखिएको छ । उनीहरू काठमाडौंको तीनचुलीमा एक महिलालाई नसालु पदार्थ सेवन गराई सुन तथा नगद चोरी गरेको घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका चारै जनामाथि अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार