Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

नेपाली सेनालाई चिनियाँ सेनाले दियो तीन लाख भेरोसेल खोपसहित स्वास्थ्य सामग्री


मित्रराष्ट्र चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरूप भेरोसेल खोप तथा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन्।

हस्तान्तरण गरिएका सामग्रीहरूमा १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३,००,००० डोज कोभिड-१९ विरुद्धको खोप रहेको नेपाली सेनाले जनाएको छ। प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो।

यस किसिमको सहयोगबाट महामारी विरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी भएर जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार