Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम ठप्प, सरकारलाई धुर्मुसको यस्तो आग्रह


चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन लागि परेको धुर्मुस सुन्तली फाउण्डेशन पछिल्लो ४ महिनायता काम रोकेर बसेको छ। आर्थिक अभाव र ऋण पनि बढ्दै गएको भन्दै फाउण्डेशनले काम रोकेको हो। मंगलबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै धुर्मुसले रंगशाला निर्माण परियोजनाबाट आफूहरु नभागेको बताएका हुन् ।साथै उनले करिब ३५ प्रतिशत काम सकिएको उक्त निर्माण परियोजना छिट्टै पुनःसञ्चालन गर्ने बताए । गत भदौ ३१ गते धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणको काममा खर्च धेरै भएको र ऋण लागेको भन्दै तत्काललाई काम स्थगित गरेको थियो ।

२०७५ माघ १६ गतेबाट रंगशाला निर्माणको काम थालेको फाउण्डेसनले हालसम्म रंगशाला निर्माणमा ५४ करोड रुपैयाँ खर्च गरिसकेको छ । ऋण धेरै भएका कारण थप उधारोमा कारोबार गर्न नसकिने भन्दै गत भदौंमा फाउण्डेसनले रंगशाला निर्माणको कामलाई स्थगित गरेको थियो ।‘हामीले सरकारलाई आह्वान गरेको निकासका लागि हो । देशको सम्पत्तिको लागि हो । देशको धरोहर बनिरहेको छ,’ भिडियोमा धुर्मुसले भनेका छन् ।

उनले रंगशाला निर्माणको अभियानमा फेरि एक पटक जुरमुराएमा अबको ६ महिनादेखि एक वर्षभित्रमा इतिहासकै पहिलो ३० हजार क्षमताको अन्तराष्ट्रिय रंगशाला निर्माण हुने बताएका छन् । ‘४०/४५ हजार मानिसको भावनालाई सरकारले कदर नगर्ने त ? विदेशमा काम गर्ने श्रमिकहरुले रंगशाला बनोस् भनेर गरेको सहयोगलाई अपमान गर्ने त हामीले ?’, उनले प्रश्न गर्दै भनेका छन् ।

आफूले रंगशाला निर्माण गर्ने उद्देश्य लिएर अघि बढ्दा धेरैभन्दा धेरै आश्वासन मात्रै पाएको उनले बताए । सँगै आफूले पाएका साथ र हातहरु पनि विस्तारै टुट्दै गएकाले तिनिहरुलाई जोड्ने प्रयास गरिरहेको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार