Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो, कुन कुन पदमा हुने भयो मतदान ?


नेकपा एमालेको जारी १० औं महाधिवेशनमा पदाधिकारीको १४ पदका लागि निर्वाचन हुने भएको छ। चितवनस्थित सौराहामा जारी बन्दसत्र अन्तर्गत बिहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै अब निर्वाचनको कार्यक्रम अघि बढ्ने भएको हो।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। ओलीको सूचीमा नपरेका निवर्तमान उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै उपाध्यक्षमा पनि निर्वाचन हुने भएको हो। एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ।

उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए। त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ।

एमालेमा सात जना सचिव रहने छन्। ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए। तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ।

एमालेमा पदाधिकारीका १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार