नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २८ गतेका लागि आह्वान गरिएको संसद् बैठक चल्न नदिने अडान दोहोर्याएका छन् । आजकाठमाडौं थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै उनले सङ्घीय संसद्को दुवै बैठक चल्न नदिने बताए ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरू बैठकमा आउने भएकाले आफूहरूले संसद् बैठक चल्न दिन नसक्ने तर्कसमेत गरे। उनीहरू गैरसांसद भएकाले उनीहरू आएको संसद् बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।
यस्तै उनले सभामुख अग्निप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । अध्यक्ष ओलीले भने, ‘व्यवस्थापिका २८ गते बोलाइएको छ । किन बोलाइएको हो ? अब त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला । तर हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर बैठक कसरी चल्न सक्छ ? निमयले गैरसांसदलाई सभामा बस्न दिँदैन । हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरू फेरी २८ गते आउँछन् भने त्यो कुरा हामीलाई स्वीकार्य हुन सक्दैन । निष्पक्ष रहनुपर्ने सभामुखको पद निष्पक्ष देखिएन । कोभिड–१९ को नयाँ भेरियन्टको जोखिम छ । अनेक समस्या छ, त्यतातिर सरकारको ध्यान गएको छैन ।’





