प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको सभापति बन्ने इच्छा व्यक्त गरेका छन् । सोमबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफ्नो इच्छा व्यक्त गरेका हुन्।
सभापति देउवाले १४ औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको जानकारी दिदै सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह समेत गरे । उनले अर्को पटक सभापति भएर राम्रो काम गरेर देखाउने पनि बताए । सभापति देउवाले भने ‘मेरो अन्तिमपटक हो, त्यसैले तपाईहरुबाट सहयोगको पनि अपेक्षा गरेको छु ।’
सभापति देउवाले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि बताए । अर्को प्रसंगमा सभापति देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने जानकारी दिए । प्रधानमन्त्री देउवाले वर्तमान पाँच दलीय गठबन्धन सरकार राष्ट्रियसभा चुनावसम्मका लागि भएको बताए । राष्ट्रियसभाको चुनावपछि गठबन्धन रहनेनरहने भन्ने विषयमा सत्ता साझेदार दलहरुबीच छलफल नभएको उल्लेख गरे ।





