Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेद्वार तय गर्न सकेन, केन्द्रीय समिति बस्दै


नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै नेताहरु तयारीमा जुटेका छन् । विभिन्न पदमा आकांक्षीहरुको व्यवस्थापन गर्न शीर्ष नेताहरुलाई सकस परिरहेको छ ।

सभापति पदमा साझा उमेदवार तय गर्ने बारे छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति बैठक बस्दै छ। बैठक दिउँसो एक बजे बस्ने तयारी छ। यसअघि हिजो पनि संस्थापन इतर समूहका शीर्षनेताले यसै विषयमा छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा भएको छलफल सकरात्मक भएकाले आज संस्थापन इतर समूहको केन्द्रिय समिति बैठकमा छलफल गर्न लागिएको हो। हिजो नेता पौडेलसहित, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो। तीन जना नेताको सहमतिमा आज संस्थापन इतर समूहका नेताको केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ गतेदेखि सुरु हुँदैछ। महाधिवेशनमा सभापति पदको लागि सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहँदा संस्थापन इतर समूहले पनि सभापतिको साझा उमेदवार उठाउने प्रयास गरेको छ। संस्थापन इतर समूहले साझा उम्मेदवार उठाउन प्रयास गरेपनि धेरै नेताहरु आकांक्षी देखिदा मुस्किल हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार