Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

भोलि बेलुकासम्म साझा उम्मेदवार सार्वजनिक गर्छौं : पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि बुधवार बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । आज मङ्गलबार चाक्सीबारीमा रहेको नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।

महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलि बेलुकासम्म आफूहरू पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दाबी गरे ।

वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसको रूपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरूले आज विभिन्न कोणबाट छलफल गर्‍यौँ । हामी सहमतिको निकै नजिक पुगेका छौँ । हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौँ, सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिक पुगेका छौँ ।’

वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेता सिंह र डा शेखर कोइराला सभापतिको उम्मेदवारको आकाङ्क्षी रहेका छन् । वरिष्ठ नेता पौडेलले भने सहमतिमै उम्मेदवारी दिने गरी सहमतिको नजिक पुगिएको दाबी गरे ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ गतेदेखि काठमाडाैंमा सुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार