कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन्। नेतृत्व चयनका लागि आज हुने मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। साथै आफ्नो समर्थन शेरबहादुर देउवालाई रहेको भन्ने समाचारको पनि पौडेलले खण्डन गरेका छन् ।
सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए। आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको पौडेलले घोषणा गरेका थिए ।
पौडेलले आफ्नो समर्थन शेखर कोइरालालाई रहेपनि मतदान प्रक्रियामा सहभागी नहुने जनाउँदै आएका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार बिहान ८ बजेदेखि मतदान गर्दै छन् ।





