Logo
२ कार्तिक २०८३, आईतवार
|  Sun Oct 18 2026

खोटाङ जाँदै गरेको जिप सुनकोशीमा खस्दा तीनको मृत्यु,चार जना घाइते,तीन जना बेपत्ता


सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन्।

आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उद्धारका क्रममा घाइते चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विकलाई उद्धार गरिएको थियो।

प्रारम्भमा घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएका चारै घाइतेलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

दुर्घटनापछि तीन जना बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ।

प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी गरिरहेको छ। दुर्घटनाको कारण तथा मृतक र बेपत्ताहरूको पहिचानबारे थप विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार