Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

शेयर बजारका लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय गम्भीर छः मन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले एउटा नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु राम्रो नभएको बताएका छन् । सोमबार बिमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । यसअघि शनिबार पार्टीको प्रदेश सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीवादको विकासले जनताको हित नगर्ने बताएका थिए ।

कुनै नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु भनेको समग्र पुँजी बजारको संरचना र स्थायित्वमा प्रश्न उठेको शर्माले बताए । एउटा मन्त्रीले सेयर बजार बढाउने वा घटाउने काम नगर्ने भन्दै उनले थपे, ‘हाम्रो सेयर बजार नीति निर्देशनबाट भन्दा पनि हल्लाको भरमा चलेको देखियो । बजारलाई यस्ता गतिविधिले प्रभावित गर्न नसक्ने बनाउनुपर्छ ।’

त्यस्तै उनले कोरोना बिमामा सरकारले तिर्नुपर्ने दायित्व छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए । मापदण्ड अनुरुप सरकारले दिनुपर्ने रकम नदिएकै कारण विगत एक वर्ष देखि बिमितले दाबी भुक्तानी नपाइरहेको अवस्थामा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । बिमा समितिले हचुवाको भरमा कोरोना बिमा पोलिसी ल्याएकाले भुक्तानीमा सरकारलाई ठूलो आर्थिक भार परेको उनले आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !
विचार