Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

देउवा सभापतिमा विजयी, डा.शेखर कोइराला फराकिलो मत अन्तरले पराजित


नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा आफ्ना निकटतम प्रतिष्पर्धी डा. शेखर कोइरालालाई भारी मत अन्तरका साथ पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
पहिलो चरणको मतदानबाट सभापतिमा विजयी हुन नसकेका देउवाले दोस्रो चरणको मतदानमा २७२४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी डा. शेखर कोइरालाले १८१७ मत प्राप्त गरे । पहिलो चरणको मतदनामा ८२ मतका कारण विजयी हुन नसकेका देउवाले दोस्रो चरणको निर्वाचनमा ९०७ मतको फराकिलो अन्तरले डा. शेखर कोइरालालाई पराजित गरेका छन् । पहिलो चरणको निर्वाचनमा देउवाले २५५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १७०२ मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित हुन प्राप्त गर्नुपर्ने बहुमत पहिलो चरणको निर्वाचनमा कसैले पनि नल्याएपछि मंगलबार दिउँसो ३ः३० बजेबाट पुन ः मतदान भएको थियो । राती अबेर सकिएको मतदानको गणना शुरु हुँदा रातको ११ बजेको थियो ।
पहिलो चरणको निर्वाचनमा सभापतिमा प्रतिष्पर्धा गरेका अन्य ४ जना प्रतिद्वन्दीलाई पछि पार्दै देउवा पहिलो बनेपनि सभापतिमा निर्वाचित हुन भने सकेका थिएनन् । पहिलो चरणको निर्वाचनमा आफूसँगै प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए । पहिलो चरणको निर्वाचनमा उनीहरुले क्रमशः३७१,२५० र २२ मत प्राप्त गर्दै तेस्रो, चौथो र पाँचौं भएका थिए ।
यसअघि देउवाविरुद्ध गठबन्धन गर्ने घोषणा गरेपनि सभापतिका तीन प्रतिष्पर्धीले अन्तिम समयमा देउवाको पक्षमा उभिने निर्णय गरेपछि बुहमतका लागि देउवालाई सहज भएको हो । प्रकाशमान सिंह करिब १२ वर्षअघि देउवासँग विद्रोह गरेर तात्कालिन कोइराला क्याम्पमा पुगेका नेता हुन् भने विमलेन्द्र निधि र कल्याण कल्याण गुरुङ १४ औं महाधिवेशनपूर्व देउवासँग विद्रोह गरेका नेताहरु हुन् । तर, अन्तिम समयमा आइपुग्दा भने देउवाले कुनैबेला आफ्नै गुटमा रहेका नेताहरुलाई आफूतिर तानेर फेरि सभापतिमा दोहिरिन सफल भएका छन् ।
कांग्रेसको १३ औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई पराजित गरेर देउवा पहिलोपटक सभापतिमा निर्वाचित भएका थिए । त्यसअघि कांग्रेसको १२ औं महाधिवेशनमा देउवा सभापतिमा पराजित भएका थिए भने कांग्रेसको ११ औं महाधिवेशनमा कांग्रेस विभाजित अवस्थामा थियो । देउवाले २०५९ मा नेपाली कांग्रेस विभाजित गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । त्यतिबेला ११ औं महाधिवेशन कांग्रेसले अलग अलग रुपमा गरेको थियो । मुल कांग्रेसको सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित भएका थिए भने नेपाली कांंग्रेस प्रजातान्त्रिकको सभापतिमा शेरबहादुर देउवा सर्वसम्मत निर्वाचित भएका थिए ।
अहिले कांग्रेसको १४ औ. महाधिवेशनमा सभापतिमा उठेका प्रकाशमान सिंह त्यतिबेला कांग्रेस प्रजातान्त्रिकको उपसभापति थिए भने विमलेन्द्र निधिले पनि देउवालाई बलियो साथ दिएका थिए । तर, प्रकाशमान सिंह २०६४ बाट देउवासँग विद्रोह गरेर कोइराला खेमामा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार