प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ ।
मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तर्राष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ । बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो ।
अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ । मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुन नसकेको जनाइएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।
उडान डिले भए पनि गन्तव्यमा यात्रु पुर्याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने उनले बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।





