गए रातिदेखि परेको लगातारको वर्षाको कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुँदा चोकचोकमा फोहोर थुप्रिएको छ।लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलमा स्थानीयवासीले अवरोध गर्दा यही पुस पहिलो साता फोहोर व्यवस्थापन हुन सकेको थिएन। विगत पाँच दिनदेखि नियमितरुपमा उठ्न थालेको फोहोर निरन्तर परेको पानीको कारण पुनः रोकिएको हो।
नियमित पानी परिरहे फोहोर सिसडोलसम्म लान नसकिने भन्दै काठमाडौँ महानगरपालिकाले नागरिकलाई केही दिनका लागि सकेसम्म फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको छ।कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार पानी पर्दा फोहोर बोक्ने गाडी जान नसक्ने हुँदा चोकचोकमा फोहोर थुप्रिएको हो, पानी पर्न रोकिएसँगै नियमित फोहोर व्यवस्थापन हुन्छ।
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको छ। निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ।





