Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

एक विद्रोही छोरीले शुरु गरेको आभाशा अभियान । भन्छिन् : कार्यक्षेत्रमै मर्न चाहन्छु


मुस्लिम समुदायकी एक विद्रोही छोरी हुन् : नजबुल खान । बुर्का फालेर समाज परिवर्तनको अभियानमा लागेकी नजबुल महिला अधिकारको क्षेत्रमा एक शसक्त नाम हो । उदयपुरमा जन्मिएकी नजबुलले केही वर्षयता आभाशा राष्ट्रिय अभियान सञ्चालन गर्दै आएकी छिन् । आभाशा को अर्थ आसनमा, भाषणमा र शासनमा महिला भन्ने हो । महिलालाई आसनमा पनि भाषणमा पनि र शासनमा पनि पछि पार्ने गरिएको महसुस गरेपछि उनले यो राष्ट्रिय अभियान सञ्चालन गरेकी हुन् । आभाशा राष्ट्रिय अभियानबाट उनले अहिले सम्म धेरै काम गरेकी छिन् । तर, त्यसमा पनि बेटी राष्ट्रिय सम्मेलन एउटा विशेष सम्मेलन हो । छोरीचेलीको शसक्तिकरणका लागि उनको नेतृत्वमा शुरु भएको यो सम्मेलन प्रत्येक वर्ष एउटै मितिमा हुँदै आएको छ । गण्डकी प्रदेशको पोखरामा यही माघ २७ गतेदेखि हुन लागेको बेटी राष्ट्रिय सम्मेलनका सन्दर्भमा केन्द्रीत रहेर आजको प्रेसले नजबुल खानसँग विशेष कुराकानी गरेको छ । प्रस्तुत छ खानसँग गरिएको कुरकानी  :

कहिलेदेखि किन शुरु गर्नुभयो आभाशा अभियान ?
म छोरीचेलीको हकहितका लागि निकै लामो समयदेखि काम गरिरहेको थिएँ । तर, एक्लैको प्रयासले मात्रै केही हुँदैन भन्ने लागेर मैले यसलाई सन् २०१२ मा संस्थागत रुप दिएँ । विशेषगरी छोरीचेलीको शसक्तिकरण यो अभियानको मुख्य उद्देश्य हो ।
यो अभियानले के गर्छ ?
मैले अघि भनेँ, छोरीचेलीहरुको हक अधिकारका क्षेत्रमा आभाशाले विशेष काम गर्ने गर्छ । छोरीचेलीहरुको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणमा सहयोग पुग्नेगरी हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । राष्ट्रिय बेटी सम्मेलन तीनै कार्यक्रमहरु मध्येको एक हो । हामीले २०७५ बाट शुरु गरेको यो सम्मेलन प्रत्येक वर्ष एउटै मितिमा हुने गर्छ । ७ वर्षका लागि हामीले पहिल्यै यो सम्मेलनको मिति तय गरेका छौं । प्रत्येक वर्ष माघ २७,२८ र २९ गते यो सम्मेलन हुने गर्दछ ।
यो सम्मेलन शुरु गर्नुअघि र पछि के फरक पाउनुभएको छ ?
धेरै फरक पाएका छौं । कुनै पनि मञ्च गोष्ठीमा महिलाहरुको सहभागितामा वृद्धि भएको छ । कुनै कार्यक्रम हुँदा महिलालाई स्वागत मन्तव्य दिने, व्याच लगाइदिने काममा मात्रै सामेल गराइन्थ्यो । तर, अहिले व्यापक फरक आएको छ । महिलालाई कार्यक्रमहरुमा मुख्य वक्ताका रुपमा बोलाउँन थालिएको छ । पहिले पहिले महिलालाई कोषाध्यक्ष मात्रै राखिन्थ्यो अहिले सचिव, महासचिव, अध्यक्ष पनि बनाउन थालिएको छ ।
बेटी राष्ट्रिय सम्मेलनमा हालसम्म के के गर्नुभयो ?
आभाशा अन्तर्गत चेलीबेटी सशक्तिकरणका लागि हामीले २०७५ बाट राष्ट्रिय बेटी सम्मेलन गर्न शुरु गरेका हौं । पहिलो बेटी सम्मेलन २०७५ सालको माघ २७,२८ र २९ गते उदयपुरमा ग¥यौं । दोस्रो राष्ट्रिय बेटी सम्मेलन २०७६ सालमा प्रदेश नं २ मा ग¥यौं । तेस्रो २०७७ मा हेटौंडामा ग¥यौं । चौथो यही आउँदो माघको २७ गतेबाट पोखरामा गर्दैछौंं । हामीले बेटी सम्मेलनमा विभिन्न विषयमा केन्द्रीत रहेर हिमाल, पहाड, तराईका छोरीचेलीहरुका बीचमा व्यापक अन्तरक्रिया तथा छलफल चलाउँने गरेका छौं भने प्रत्येक सम्मेलनमा केही छोरीचेली र छोरीचेलीहरुको हकहितका लागि काम गर्ने तथा समाजमा उदाहरणीय काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने गरेका छौं । यो अभियानलाई अब हामी अन्तर्राष्ट्रिय रुपमा पनि लैजान्छौं ।
यो सम्मेलनको मुख्य उद्देश्य एकपटक प्रष्ट पारिदिनुहोस् न !
उद्देश्य धेरै छन् । त्यसमध्ये केही उद्देश्य बुँदागत रुपमा म उल्लेख गर्न चाहन्छु :
अहिले ७ वटा प्रदेश छन् तर, ती सबै प्रदेशमा महिला बालबालिका मन्त्रालय छैनन् । सबै प्रदेशमा महिला बालबालिका मन्त्रालय स्थापनाका लागि दबाब दिनु हाम्रो उद्देश्य हो । त्यस्तै ७७ वटै जिल्लामा महिला तथा बालबालिका कार्यालय पुनःस्थापना हुनुप¥यो भनेर हामीले भनिरहेका छौं । महिलाले नेतृत्व गरेको एकमात्र कार्यालय अहिले हटाइएको छ जुन हामीलाई सह्य छैन ।
स्यानिटरी प्याडको अभावमा स्कुल तथा कार्यालयमा महिलाहरुले अप्ठ्यारो भोग्नुपरेको छ । त्यो समस्या समाधानका लागि स्यानिटरी प्याड निःशुल्क वितरणको व्यवस्था गर्न आवश्यक छ भन्ने हाम्रो माग हो । यस्तै राजनीतिक दलदेखि लिएर हरेक संघ संस्थामा नेतृत्व परिवर्तन तथा पुस्ता हस्तान्तरण, बालिकाहरुलाई आत्मरक्षाका कार्यक्रम सरकारले नीति तथा कार्यक्रमभित्रै ल्याउनुपर्ने, स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरेर कुपोषण बिरुद्धको कार्यक्रम सञ्चालन गर्नुपर्ने, गुणस्तरीय शिक्षा र लोकसेवामा समावेशीकरण गर्दै पिछडिएको वर्गका महिलालाई विशेष अवसर दिनुपर्ने, चेलीबेटी सशक्तिकरण गर्दै महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वय गर्नुपर्ने, ग्रामिण भेगमा बसोबास गर्ने विशेषगरी गरिब तथा विपन्न वर्गका किशोरीहरुलाई निःशुल्क प्राविधिक शिक्षा प्राप्त गर्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नुपर्ने, अभाशा राष्ट्रिय अभियानलाई सात वटै प्रदेशहरुमा समन्वय सहकार्य गर्दैै माघ २७ गतेलाई आभाशा दीवसका रुपमा मनाउन सबै पक्षलाई आह्वान गर्ने साथै यस राष्ट्रिय अभियानलाई नेपाल, भारत, बंगलादेश हुँदै सार्क राष्ट्रका सबै देशहरुमा फैलाउँने मुख्य उद्देश्य रहेको छ ।
राष्ट्रिय बेटी सम्मेलन लगायतका अन्य कार्यक्रमका लागि आर्थिक स्रोत कसरी जुटाइरहनुभएको छ ?
आर्थिक स्रोत एउटा कठीन पक्ष हो । तर, हामीले प्रदेश सरकारसँग समन्वय गर्ने गरेका छौ.। उहाँहरुले हामीलाई केही सहयोग गर्दै आउनुभएको छ ।
अभाशाले बेटी सम्मेलन मात्रै गर्छ या अरु केही ?
यो मात्रै होइन , अब चुनाव आउन लाग्यो । महिलाहरुलाई उप सुप चुप बनाउँने गरिएको छ । यसको अर्थ महिलाहरुलाई उपाध्यक्ष, उपप्रमुख, उप सभापति जस्ता पदमा थन्क्याउने गरिएको छ । हामी त्यसको कडा बिरोध गर्छौं । महिलाहरु उपाध्यक्ष, उपप्रमुख, उपसभापति मात्रै होइन अध्यक्ष, प्रमु्ख, सभापति जस्ता पदका लागि पनि लायक हुनुहुन्छ भनेर राजनीतिक दलहरुलाई दबाब दिनेगरी हामी अब छिट्टै अभियान सञ्चालन गर्छौं । चौथो राष्ट्रिय बेटी सम्मेलन सकिएसँगै हामी नयाँ ढंगले आउँनेछौं ।

आफ्नो समुदायमा एक प्रकारको विद्रोह नै गरेर तपाईँ सामाजिक अभियानमा लाग्नुभएको छ । यहाँको थप योजना चाहिँ के छ ?
योजना धेरै छन् । जसलाई विस्तारै म कार्यान्वयन गर्दै जान्छु । मैले जुन उमेरमा पढ्नका लागि बुर्का फालेर विद्रोह गरेँ । त्यसलाई तत्कालिन अवस्थामा गलत भन्ने समुदायले अहिले मेरो प्रशंसा गर्न थालेको छ । जसले मलाई उत्साहित पनि तुल्याएको छ । दिमागमा विभिन्न योजनाहरु छन् । त्यसको कार्यान्वयन मैले घरमा बसेर सम्भव छैन । म कार्यक्षेत्रमा दौडिनुपर्छ । कहिले कहाँ पुग्नुपर्छ कहिले कहाँ । मेरो त एउटै चाहना छ ः म कार्यक्षेत्रमै रहेका बेला मर्न पाऊँ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार